Dashain Suvakamana

असार १५ सम्म सुदूरपश्चिममा ५० प्रतिशत रोपाइँ सकियो

धनगढी । आज देशैभरि राष्ट्रिय धान दिवस मनाइरहँदा सुदूरपश्चिम प्रदेशमा भने ५० प्रतिशत रोपाइँ सकिएको छ । प्रदेश कृषि निर्देशनालय दिपायलका कृषि निर्देशक वरिष्ठ कृषि विकास अधिकृत यज्ञराज जोशीले मंगलबारसम्म ५० प्रतिशत रोपाइँ सकिएको जानकारी दिए । यस वर्ष समयमै मनसुन सक्रिय भएको हुँदा प्रदेशका ९ वटै जिल्लामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको हो ।

‘सुदूरपश्चिममा एक लाख ८५ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ गरिँदै आएको छ’ वरिष्ठ कृषि विकास अधिकृत जोशीले भने, ‘मंगलबारसम्म आइपुग्दा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।’ जोशीले यस वर्ष समयमै मनसुन भएका कारण अघिल्ला वर्षको तुलनामा धेरै रोपाइँ सकिएको बताए । ‘गत वर्ष अहिले ३०/३२ प्रतिशत मात्र रोपाइँ भएको थियो ।

प्रदेश कृषि निर्देशनालयका अनुसार सबैभन्दा धेरै धान खेती हुने कैलालीमा मंगलबारसम्म ५५ प्रतिशत रोपाइँ सकिएको छ । कैलालीमा झण्डै ७२ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आएको छ । कैलालीपछि बढी क्षेत्रफल रहेको कञ्चनपुरमा ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । दार्चुलामा ६२ प्रतिशत, डडेल्धुरामा ६०,बाजुरामा ५५, अछाममा ४५ बैतडीमा ४५, बझाङमा ४५ र डोटीमा ४५ प्रतिशत धान रोपाइँ सम्पन्न कृषि निर्देशनालयले जनाएको छ ।

प्रदेशमा धान रोपाइँ हुने कुल क्षेत्रमध्ये करिब ५३ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा पुगेको कृषि निर्देशनालयले जनाएको छ । बाँकी ४७ प्रतिशत क्षेत्रफलमा आकाशे पानीको भरमा रोपाइँ गरिने गरेको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.