कैलालीमा अव दिनभर बजार खुल्ने, सार्वजनिक यातायात पनि चल्ने
धनगढी । आजदेखि कैलालीमा साँझ ६ बजेसम्म नै सबैखाले पसल खोल्न पाईने भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिएमसी) ले कैलाली जिल्लामा लक डाउन खुकुलो गरेको छ । यद्यपी निषेधाज्ञालाई समेत यथावत राखेको छ । यो निर्णय असार २२ गते सम्मका लागि लागू भएको हो ।
जिल्ला प्रशासन कार्यालय कैलालीमा सोमबार प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालको अध्यक्षतामा बसेको बैठकले १६ गतेदेखि कैलाली जिल्लामा सार्वजनिक यातायात समेत चल्न दिने निर्णय गरेको छ । बैठकले यातायातका साधन जिल्ला भन्दा बाहिर जान र बाहिरबाट आउन भने रोक लगाएको छ । यो निर्णय अनुसार जिल्लाभरी सार्वजनिक यातायात जोर बिजोर प्रणालीमा चल्न पाउनेछन् । सवारी साधनले क्षमता भन्दा यात्रु बोक्न पाउनेछैनन् ।
चालक, सहचालक र कन्डक्टरले मास्क र पञ्जा अनिवार्य रुपमा लगाउनु पर्नेछ । त्यसका साथै ढोकामा सेनिटाईजरको व्यबस्था पनि अनिवार्य गरेको छ ।बजारहरु भने बिहान ६ देखि साँझ ६ बजेसम्म खोल्न पाईनेछ । रेष्टुरेण्ट,जीमखाना, फिल्ममाथि लगाएको रोक यथावत छ । तर रेष्टुरेण्टले टेक अवे सुबिधा भने दिन पाउनेछन् ।
सरकारी कार्यालय, बैक तथा वित्तिय संस्थाहरु जनस्वास्थ्यका सुरक्षा मापदण्डको पालना गरी कार्यालय समयभित्र सञ्चालन गर्न दिने बैठकले निर्णय गरेको जिल्ला प्रशासन कार्यालय कैलालीका सुचना अधिकारी शिवराज जोशीले जानकारी दिए ।