पर्यटनलाई ब्यबसायीकरण गर्दै स्वरोजगार सिर्जना गरिने: मुख्यमन्त्री भट्ट
प्रकाश जाेशी
डोटी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलाेचन भट्टले पर्यटनलाई ब्यबसायीकरण गर्दै स्वरोजगार सिर्जना गरिने बताएका छन् ।आज साेमवार सिलगढी झिग्रानाहुँदै खप्तड सडकको अनुगमन गर्ने क्रममा यस्ताे बताएका हुन् ।
मुख्मन्त्री भट्टले सुदूरपश्चिमको भु स्वर्गको रुपमा परिचित खप्तड क्षेत्र पर्यटकको रोजाइको केन्द्र भएपनि खप्तड जाने बाटो नहुँदा पर्यटकीय सम्भावना ओझेलमा परेको तितो यथार्तलाई मध्यनजर गर्दै २०६५ सालतिर आफु खप्तड बिकास क्षेत्रको अध्यक्ष हुँदा सिलगढीबाट झिग्राना हुँदै ट्याक खोलेको बताए। उनले अगाडी भने- ‘आज म मुख्यमन्त्री हुने बित्तिकै खप्तड मेरो नजरमा थियाे र मैले यो बाटो बनाएर पर्यटनलाई ब्यबसायिकरण गर्दै स्वरोजगार सिर्जना होस भन्ने मेरो ध्यय छ ।’
मुख्यमन्त्री भट्टले अब खप्तडमा लाखौ पर्यटक भित्र्याउने बिश्वास ब्यक्त गरे । अनुगमनको क्रममा काम समयमै सक्न निर्माण व्यबसायीलाई निर्देशन समेत दिए । प्रदेश सरकारले गरेका बिकास निर्माणदेखि खुसी हुँदै स्थानीय बासिन्दाले खुशी व्यक्त गरेका छन् ।
पर्यटकीय प्रचुर सम्भावना बोकेको खप्तड क्षेत्रलाई मध्यनजर गर्दै सिलगढीदेखि झिग्रानाहुँदै खप्तड जोड्ने सडकको प्रदेश सरकारले पीचकोलागि एक बर्ष अघि नै करिव ७८ करोड लागतमा ठेक्का भएको थियो ।
उक्त सडकको कालोपत्रे डोटी सदरमुकाम सिलगढीदेखि झिग्रानासम्म हुनेछ । दुई दिनदेखि डोटीमै रहेका मुख्यमन्त्री भट्टले आज नै जिल्ला अस्पताल डोटीकाे भवन निर्माणकाे शिलन्यास समेत गरेका छन् ।