‘सुदूरपश्चिम सरकार सुरक्षित छ, कसैले धम्क्याउँदैमा केही हुनेवाला छैन’
धनगढी । प्रदेशसभा सदस्य तथा नेकपा एमाले कैलाली (माधव समूह)का अध्यक्ष दीर्घ सोडारीले प्रदेश सरकार सुरक्षित रहेको दाबी गरेका छन् ।एमालेवाट निर्वाचित समानुपातिक संसद फेरेर भएपनि ओली समूहले नयाँ सरकार गठन गर्न गरेकाे कसरत ‘वाईयाद’ भन्दै उनले कसैले धम्क्याउँदैमा कसैको पद नजाने बताए ।
पूर्वमन्त्री समेत रहेका प्रदेशसभा सदस्य सोडारीले कसैले धम्क्याउँदैमा कसैको पद नजाने र हालसम्म प्रदेश सरकार पनि सुरक्षित रहेको दाबी गर्दै भन्छन्, “पार्टीको वैधानिकताको आधार नेकपा एमालेको नवौं अधिवेसनबाट निर्वाचित कमिटी हो। जसलाई कारवाही गर्ने अधिकार छ। जुन कमिटीको अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्ष भीम रावल, महासचिव ईश्वर पोखरेलसहितको कमिटीले गर्ने हो। हाम्रो पार्टीभित्र समान विचारधारा नआएकोले केही समस्या भएको हो। अरु केही होइन, समाधान भएर जान्छ। संसदीय अभ्यास हामीले पनि बुझेका छौ। कसैले धम्क्याउँदैमा केही हुनेवाला छैन।”
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गराएपछि साविक नेकपा विवाद चुलिएको थियाे। त्यसैबीच सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले साविक नेकपा भंग भइ पूर्ववत अवस्थामा नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) फर्किएपछि नेकपा (माओवादी केन्द्र)का त्रिलोचन भट्ट नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ सरकार बनाउने कसरत तीव्र पारेको बताइएकाे छ।
नेकपा एमाले(ओली) समूहका नेताहरु हाल धनगढी केन्द्रित भएका छन्। नेकपा एमाले (ओली)समूहका केन्द्रीय सदस्य समेत रहेका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले भने, “हाम्रो प्रदेश अध्यक्ष कर्ण थापा, प्रदेश इन्चार्ज लेखराज भट्ट र हामी केन्द्रीय सदस्यहरु पनि यही छौं। हामीले नयाँ सरकार गठनको लागि छलफल सुरु गरेका छौं। केही दिनभित्रै उत्तम र उपयुक्त विकल्प छनोट गरेर सरकार परिवर्तनको प्रक्रिया अगाडि बढ्न सक्छ।”