अशक्त, ज्येष्ठ नागरिकका घरमै पुगेर काेराेनाबिरुद्धकाे खोप लगाइने

काठमाडौं । सरकारले कोभिड–१९ विरुद्धको निःशुल्क खोप अभियानमा अशक्त र ज्येष्ठ नागरिकका घरमै पुगेर खोप लगाउने भएको छ । सरकारले ५५ वर्ष माथिका नागरिक, अशक्त दीर्घरोगी र वैदेशिक रोजगारबाट नेपाल फर्केका व्यक्तिलगायतका लागि यही फागुन २३ गतेदेखि खोप अभियान शुरु गर्न लागेको हाे ।

पचपन्न वर्षभन्दा माथिका अनुमानित सङ्ख्या ५१ लाख ६४ हजार २६९ का लागि यही फागुन २३ गतेदेखि दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप अभियान शुरु हुनेछ । यो कूल जनसङ्ख्याको १७ प्रतिशत हो । यसका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्घ सरकारका तर्फबाट व्यवस्थापन र समन्वय गर्नेछ भने स्थानीय तहले आफ्ना स्वास्थ्य कार्यालय र जनशक्तिलाई परिचालन गर्नेछन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री हृदयेश त्रिपाठीले दोस्रो प्राथमिकता प्राप्त समूहको पहिलो चरणको खोप लगाउने तयारीसँगै कोभिड–१९ विरुद्धको लडाइँमा नेपाल महत्वपूर्ण चरणमा प्रवेश गरेकोे बताउँदै विश्वमा अझै १०१ मुलुकमा खोपको पहुँच नपुगेको स्थितिमा नेपालमा पहिलो प्राथमिकता प्राप्त समूहलाई पहिलो चरणको खोप लगाई दोस्रो प्राथमिकता प्राप्त समूहमा प्रवेश गर्नु विशेष उपलब्धि भएको जनाएका छन् ।

नयाँ चरणमा मुलुकभरका सबै (सरकारी तथा निजी) स्वास्थ्य संस्था र १६ हजार क्लिनिकलाई परिचालन गरिने मन्त्रालयका सचिव लक्ष्मण अर्यालले जानकारी दिए । उनले खोप केन्द्रमा आउन असमर्थका लागि स्थानीय मोबाइल टोली खटाई घरमै पुगेर लगाउने तयारी भएको बताए । पहिलो र दोस्रो प्राथमिकता प्राप्त समूह गरी कूल जनसङ्ख्यामा २० प्रतिशतलाई खोप उपलब्ध गराउने सरकारले घोषणा गरेको थियो ।

सरकारले महामारीविरुद्ध अग्रपङ्गतिमा खटिएका स्वास्थ्यकर्मी लगायतलाई पहिलो प्राथमिकता प्राप्त समूहको पहिलो चरणमा कूल जनसङ्ख्याको तीन प्रतिशत (नौ लाख ११ हजार ३४२) लाई ध्यानमा राखी गत माघ १४ देखि २४ सम्म सञ्चालन गरेको थियो । यो चरणमा उमेरका कारणले पनि योग्य भएकाले प्रधानमन्त्री, मन्त्रीहरु लगायत उच्चपदस्थले पनि खोप लगाएर यो खोप सुरक्षित छ र लगाउनु पर्छ भन्ने सन्देश दिलाउने सरकारको तयारी छ । रासस

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.