
दार्चुला । दार्चुलाको अपि हिमाल गाउँपालिकामा ‘अपि हिमाल पर्यटन उत्सव’ हुने भएको छ । गाउँपालिकाले कात्तिक १७ देखि १९ गतेसम्म तीन दिने उत्सवको आयोजना गर्ने भएको छ।
पर्यटन गतिविधि बढाउँदै स्थानीयको रोजगारी तथा आय आर्जनको अवसर सिर्जना गर्ने र ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने उद्देश्यले उत्सव आयोजना गर्न लागिएको गाउँपालिका अध्यक्ष भक्तसिंह ठेकरे बोहराले जानकारी दिए। उनका अनुसार चालु आवको नीति तथा कार्यक्रमको उद्देश्य पूरा गर्नेगरी उत्सव सञ्चालन गर्न लागिएको हो । उत्सव अपि हिमाल गाउँपालिका–१ स्थित अपि हिमाल बेसक्याम्पको पिलकन्दमा आयोजना गरिने छ ।
उत्सवसँग सम्बन्धित अन्य गतिविधि गाउँपालिकाको विभिन्न क्षेत्रमा समेत सञ्चालन गरिने उनले बताए। एकीकृत पर्यटन उत्सव भएकाले गाउँपालिकाको सबै क्षेत्र लाभान्वित हुने अपेक्षा गरिएको उनको भनाइ छ। नेपाल सरकार र अपि हिमाल गाउँपालिकाको साझेदारीमा सञ्चालित दिगो पर्यटन परियोजनामार्फत अपि हिमाल क्षेत्रको पर्यटन प्रवर्धन गरिदैआएको छ । अपि हिमाल बेसक्याम्पको पर्यटन प्रवर्धन तथा पर्यटकीय गतिविधि विस्तारका लागि गाउँपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको छ ।
उत्सव व्यवस्थित रूपमा सञ्चालन गर्न गाउँपालिका अध्यक्षको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । पर्यटन पूर्वाधार निर्माण र पदमार्ग विस्तारलाई प्राथमिकता दिँदै अपि हिमाललाई सुदूरपश्चिमकै प्रमुख पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने प्रयास भइरहेको उनको भनाइ छ।
