कांग्रेस-एमाले भागबण्डा नमिल्दा सुदूरपश्चिममा बजेट भाषण अन्याैलमा

धनगढी । सुदूरपश्चिम प्रदेशमा सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच बजेटमा भागबण्डा नमिल्दा प्रदेश सभाको बैठक अनिश्चित बनेको छ । प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०८३ र ८४ को बजेट सोमबार साँझ ५ बजे प्रदेश सभाको बैठकमा प्रस्तुत गर्ने कार्यसूची रहेको थियो । तर, मुख्यमन्त्री कमलहादुर शाह र मन्त्रीहरूबीच भागबण्डाअनुसार बजेट बाँडफाँट नहुँदा प्रदेश सभाको बैठक अनिश्चित भएको हाे ।

आइतबार राति १२ बजेभित्र नै सबै योजना वार्षिक कार्यक्रम समावेश गरेर बजेट प्रणाली बन्द गर्नुपर्ने भए पनि सुदूरपश्चिममा भने अझै लेखन कार्य जारी छ ।स्राेतका अनुसार कर्मचारीहरु अझै बजेट लेखनमै छन् । बजेट पूर्ण नभएपछि मन्त्रिपरिषद् बैठक समेत बस्न सकेको छैन् । सोही कारण मुख्यमन्त्री कमलबहादुर शाहले अहिलेसम्म मन्त्रिपरिषद् बैठक नबोलाएको स्रोत बताउँछ ।

स्रोतकाअनुसार भौतिक पूर्वाधार विकास मन्त्रालयमा तोकिएको सिलिङअनुसारको बजेट नपरेपछि मन्त्री सुरेन्द्र बहादुर पालले असहमति जनाएका छन् । उनको असहमतिपछि सिलिङअनुसारकै बजेट र योजना समावेश गर्नेगरी काम भइरहेको स्रोतको दाबी छ । एमाले मात्र नभएर कांग्रेसका मन्त्रीहरुले समेत बजेटमा आफूले सिफारिस गरेका योजना नपरेको गुनासो गरेका छन् ।

सत्तारुढ दलकै सांसदहरूले समेत दबाब दिन थालेपछि मुख्यमन्त्री शाह र आर्थिक मामिला मन्त्री विक्रम सिंह धामी माग सम्बोधन हुने गरी अन्तिम तयारीमा लागेका छन् । सांसदहरुले पूर्व सहमतिअनुसार आफ्नो योजना बजेटमा राख्नुपर्ने अडान लिएका छन् । अन्य प्रदेशमा अगामी आर्थिक वर्षको बजेट प्रदेश सभामा प्रस्तुत भइरहेका बेला सुदूरपश्चिममा भने सत्तारुढ दलबीचकै किचलोले अनिश्चित बनेको छ । सन्तुष्टहरूको माग सम्बोधन गरेर राति अबेरसम्म भए पनि बजेट प्रदेशसभामा प्रस्तुत गर्ने तयारी गरिएको बुझिएकाे छ ।

आर्थिक मामिला मन्त्रालयले बजेट तयार गरिसकेपछि मन्त्रिपरिषद् बैठक बसेर स्वीकृत गर्नुपर्ने प्रावधान छ । त्यसपछि मात्र बजेट वक्तव्य प्रदेश सभामा प्रस्तुत हुनेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.