धनगढी। कैलाली-कञ्चनपुरसहित तराईका विभिन्न जिल्लामा बसोबास गर्दै आएका थारू समुदाय माघी पर्वको तयारीमा जुटेका छन्। यस समुदायको सबैभन्दा ठूलो पर्व रहेकाले धुमधामसँग मनाउनका लागि हप्तादिन अगाडिबाटै तयारीमा जुटेका हुन्। माघ थारू समुदायको नयाँ वर्ष पनि हो। थारू नयाँ सम्वत् माघ १ गतेबाट सुरु हुने गर्छ।
सबैभन्दा ठूलो पर्व र नयाँ वर्ष पनि रहेकाले धुमधामसँग मनाउने गरिएको पर्वको चहलपहल सुरु भइसकेको छ। गाउँघरतिर माघ सम्बन्धित गीत गुञ्जिन थालेका छन्। पर्वको रौनक बढ्न थालेको छ। अहिले मान्छेहरू जङ्गलबाट सालको पात टिपेर ल्याउने, दुनाटपरी बनाउने, कुटानी, पिसानी गर्नेलगायतका कार्यमा जुटेका छन्।
माघ पर्वमा नभई नहुने थारू परिकार ढिक्री हो। जुन चामलको पिठोबाट बनाइने गरिन्छ। ढिक्री खानका लागि चामलको पिठो बनाउन कुटानी, पिसानीको कार्य भइरहेको कैलारी गाउँपालिका–१, मोहनपुरकी फूलरानीदेवी चौधरीले बताईन्। “बिस्तारै बिस्तारै गाउँघरका सबै जना तयारीमा जुटेको देखिन्छ,” उनले भनिन, “हाम्रो पनि तयारी भइरहेको छ।”
समुदायका मानिसले तीन दिनसम्म माघी पर्व मनाउने गर्छन्। पुस अन्तिम दिनबाट पर्व सुरु हुने गर्छ। पहिलो दिन वर्षभरिको दुःख पीडा बिर्सेर मासु, भातलगायत मीठा परिकार खाएर रमाउने चलन रहेको छ। कतिपय गाउँ, ठाउँमा यस दिन नाचगान पनि हुने गर्छ। माघ १ गते अर्थात् पर्वको दोस्रो दिनलाई ‘लहान’ भन्ने गरिन्छ। यो दिन बिहानै नदी, दह, तलाउमा नुहाइधुवाई र पूजापाठ गरेर ठूलाबडा, घरको पुर्खाबाट आशीर्वाद लिने गरिन्छ।
यसैगरी एकअर्कालाई भेटघाट गरेर शुभकामना आदानप्रदान गर्नुका साथै ढिक्री, मासुलगायतका परिकार खाने गरिन्छ। पर्वको दोस्रो दिन नयाँ वर्ष रहेकाले सबैसँग मीठो बोल्ने, खराब आचरण त्याग्नेलगायतको शुभकार्यको सुरुवात गर्ने गरिएको बताइन्छ। माघ पर्वको तेस्रो अर्थात् अन्तिम दिन घरपरिवार र गाउँ समाजमा ‘खोज्नीबोज्नी’ गर्ने गरिन्छ। यसै दिन गाउँको नेतृत्व गर्नका लागि भलमन्सा चयन गर्ने गरिन्छ।
धार्मिक, सामाजिक महत्व बोकेको माघ पर्व थारू समुदायका मुक्तकमैयाका लागि मुक्तिको पर्व पनि हो। तत्कालीन समयमा मालिक वा जमिनदारका घरमा कमैया, कमलहरी बसेकाहरू माघी पर्वमा मात्रै छुट्टी पाउने गरेको यस समुदायका मानिस बताउँछन्। त्यसैले मुक्तकमैया होस वा जुनसुकै वर्गका थारू परिवारले माघ उल्लासपूर्वक मनाउने गर्छन्।