भीम रावलले टिकट नपाएपछि क्षेत्रीय संयोजकले दिए राजीनामा

अछाम । एमालेका पूर्व उपाध्यक्ष भीम रावलले आसन्न निर्वाचनमा प्रतिनिधि सभा उम्मेदवारको टिकट नपाएपछि एमाले क्षेत्रीय समन्वय कमिटी संयोजक प्रकाश शाहले पदबाट राजीनामा दिएका छन्। पार्टी अध्यक्षलाई पत्र लेख्दै शाहले शनिबार पदबाट राजीनामा दिएको जानकारी दिएका हुन्।

क्षेत्रीय समन्वय कमिटीले सर्वसम्मत रूपमा रावलको एकल नाम सिफारिस गर्दा पनि केन्द्रबाट विकल्प खोज्ने निर्णय भएको प्रति उनले खेद प्रकट गरेका छन्। ‘क्षेत्रीय समन्वय कमिटी संयोजक पदबाट राजीनामा गरेको छु। सो पदमा रहँदा सहयोग गर्नु हुने सम्पूर्णलाई धन्यवाद,’ उनले पार्टी अध्यक्षलाई लेखेको पत्रमा उल्लेख छ।

गत भदौ १९ गते एमाले निर्वाचन क्षेत्र समन्वय कमिटी बैठकले रावललाई अछाम १ बाट प्रत्यक्षमा प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको थियो। सो निर्णयलाई खारेज गर्दै एमालेले रावलको ठाउँमा गत वर्ष माओवादी पार्टी त्यागेर आएका झपट बोहोरालाई टिकट दिएको छ।

२०५१ सालदेखि २०७४ सालसम्म चार निर्वाचन लडेका रावल यसपटक भने उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। उनले २०५६ सालमा मात्र निर्वाचन हारेका थिए। २०६४ सालमा भने उनी समानुपातिक तर्फको सांसद बनेका थिए।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.