डडेल्धुरा । सुदूरपश्चिमका डडेल्धुरा र अछामका सामुदायिक विद्यालयका कर्मचारीले निजामती कर्मचारीसरह तलबभत्ता र सेवासुविधा पाउनुपर्ने माग राख्दै विद्यालयमा तालाबन्दी गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले सेवासुविधा प्रत्याभूति गर्न माग गर्दै डडेल्धुराका २५१ वटा र अछामका चारसय बढी सामुदायिक विद्यालयमा तालाबन्दी गरेका हुन्।
नेपाल विद्यालय कर्मचारी परिषद् डडेल्धुराका अध्यक्ष धर्मराज पन्तका अनुसार भदौ १२ देखि १८ गतेसम्मका लागि विद्यालय बन्द गरिएको हाे। विगतदेखि नै परिषद्ले राखेको माग सम्बोधनमा सरकार उदासीन भएकाले बाध्य भएर एक साताका लागि विद्यालय बन्द गर्नु परेको नेपाल विद्यालय कर्मचारी युनियन डडेल्धुराका अध्यक्ष टेकबहादुर ऐरीले बताए।
सङ्घीय शिक्षा ऐन २०२८ मा संशोधन गरी विद्यालय कर्मचारीलाई दरबन्दीमा समायोजन गरी एक पटकका लागि प्रक्रिया पु-याई स्वतः स्थायी प्रक्रियामा लगिनुपर्ने मागसमेत राखिएको छ। उता अछामका सामुदायिक विद्यालयका कर्मचारीले पनि विद्यालय बन्द गरेका छन्। नेपाल विद्यालय कर्मचारी परिषद्ले एक हप्ता सामुदायिक विद्यालय बन्द गर्ने निर्णयअनुसार पहिलो दिन अछामका सबै विद्यालय बन्द गराइएको हो।
केन्द्रीय निर्णयअनुसार विद्यालय कर्मचारीले जिल्लाका सबै विद्यालय बन्द गरेको परिषद्का अध्यक्ष टेकबहादुर बोहराले जानकारी दिए । अछाममा चार सयभन्दा बढी सामुदायिक विद्यालयमा पाँच सय विद्यालय कर्मचारी छन्।