राष्ट्रियसभा चुनावकालागि धनगढीमा निर्वाचन कार्यालय स्थापना

धनगढी । राष्ट्रियसभा निर्वाचनका लागि धनगढीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ। माघ १२ गते हुने राष्ट्रियसभाको चुनावकालागि निर्वाचन कार्यालय स्थापना गरिएको हो। कार्यालयको विहीबार कैलालीका जिल्ला न्यायाधीश तथा निर्वाचन अधिकृत जयानन्द पनेरुले उद्घाटन गरेको हुन्।

सुदूरपश्चिम प्रदेशमा महिला, दलित र अन्य गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि निर्वाचन हुनेछ।तीन पदका लागि प्रदेशसभा सदस्य ५२ जना र स्थानीय तहका प्रमुख तथा उपप्रमुख एक सय ७५ जना गरी दुई सय २७ जना मतदाता रहेका छन्। निर्वाचन अधिकृतका कार्यालयका अनुसार पुस १८ गते निवेदन तथा उजुरी छानबिन र कारबाही गर्ने, १९ गते अन्तिम मतदाता नामावली प्रकाशन गर्ने छ।

यस्तै, २० गते उम्मेदवारको सूची प्रकाशन गर्ने, २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, २२ गते मनोनयनपत्र र उजुरीउपर जाँचबुझ गर्ने, २४ गते उम्मेदवारले नाम फिर्ता लिने, २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारको निर्वाचन चिह्न प्रकाशन गर्ने कार्यतालिका रहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.