कांग्रेस महाधिवेशनमा प्रतिनिधिलाई १२ सयको खाना, ८ सयको कोठा
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नेतृत्व चयनका लागि २४ मंसिरबाट काठमाडौंमा १४औं महाधिवेशन हुँदैछ । महाधिवेशनमा देश तथा विदेशबाट गरी ४ हजार ६ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।
महाधिवेशनमा आउनेहरूका लागि २३ देखि २७ गतेसम्म आवासको व्यवस्था गरिएको छ । प्रतिनिधिलाई ठमेल, गौशाला र सुन्धाराका ८६ वटा होटलमा ४ हजार ६ सय कोठा बुक गरिएको कांग्रेसको आवास तथा भोजन समितिका संयोजक सुरेन्द्र पाण्डेले बताए । महाधिवेशनमा खान र बस्नका लागि मात्रै ३ करोड रुपैयाँभन्दा बढी खर्च लाग्ने अनुमान कांग्रेसको छ । ती होटलको एउटा कोठाको भाडा ८ सय रुपैयाँ पर्नेछ ।
यसैगरी, प्रतिनिधिहरूलाई महाधिवेशनस्थल भृकुटीमण्डपमा नै खानाको व्यवस्था गरिएको छ । कांग्रेसले एक छाक खानाको १२ सय रुपैयाँ छुट्याएको छ । भोजन उपसमितिको जिम्मेवारी पाएका कांग्रेस काठमाडौं महानगरका नेता प्रगतिमान रञ्जितले महाधिवेशन स्थलमा नै खानाको व्यवस्था गरिएको बताए । प्रतिनिधिलाई हरेक दिन बिहान ब्रेक फास्ट दिइनेछ । त्यसका लागि फरकफरक मेनु तोकिएको छ । मेनुमा स्यान्डवीच, जेरी–पुरी–तरकारी, अन्डासहितको ब्रेक फास्ट हुनेछ ।
यसैगरी, खाना दिउँसो र साँझ गरी दुई छाक व्यवस्थापन गरिएको छ । दुवै छाकको खानामा मासुको व्यवस्था छ । एक छाक खसीको मासु भए अर्को छाकमा कुखुराको मासु वा माछाको व्यवस्था गरिएको छ । कांग्रेसले बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्ड र वसुन्धारामा रहेको दियालो फुडल्यान्डलाई खानाको जिम्मा दिएको हो ।