एमालेको १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदै

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को १०औं राष्ट्रिय महाधिवेशन आजदेखि चितवनमा शुरु हुँदैछ । १२ मंसिरसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ । नारायणी नदी तटमा महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष केपी ओलीले मध्याह्न १२ बजे गर्ने कार्यक्रम छ ।

एमाले विभाजन पश्चात पहिलो पटक महाधिवेशन हुन लागेको हो । महाधिवेशन मूल व्यवस्थापन समितिका सहसंयोजक सुरेन्द्र पाण्डेले उद्घाटन कार्यक्रमका लागि देशभरबाट उपस्थित हुने पाँच लाखभन्दा बढी सहभागी रहने दावी गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवालगायत सात पार्टीका प्रमुख नेता सहभागी हुने छन् । महाधिवेशनका लागि भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत १५ देशका अतिथि र अन्य २५ देशबाट शुभकामना सन्देश प्राप्त भएको छ ।

११ मंसीर बिहान ८ः३० बजेदेखि सौराहामा बन्दसत्र शुरु हुनेछ। त्यहि दिन उम्मेदवारी दर्ता, दाबी विरोध र उम्मेदवारी फिर्ताको प्रक्रिया सकेर साँझ ६ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यक्रम छ।

१२ मंसीर बिहान ८ बजेदेखि मतदान शुरु हुने एमालेले जनाएको छ। मतदानका लागि १०० वटा भोटिङ मेसिन तयार गरिएको छ। बन्दसत्रमा प्रतिनिधिको स्वास्थ्य परीक्षण गरेपछि मात्रै प्रवेश दिइने भएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.