बैतडीमा जन्ति बाेकेकाे जीप दुर्घटना, मृतककाे संख्या छ पुग्याे
धनगढी । बैतडीमा जन्ती बोकेको जीप दुर्घटना हुँदा मृत्यु भएका छ जनाको सनाखत भएको छ। जिल्लाको दशरथचन्द नगरपालिका २ थलालगाउँबाट जन्ती बोकेर दशरथचन्द नगरपालिका ६ सिमायलतर्फ जाँदै गरेको म १ ज ३१० नम्बरको जीप दशरथचन्द राजमार्गको गोठलापानी–झुलाघाट सडकखण्डअन्तर्गत दशरथचन्द नगरपालिका ४ कलुवाड मोडमा दुर्घटनामा हुँदा पाँच जनाको मृत्यु भएको थियो।
मृत्यु हुनेमा जीप चालक डडेल्धुरका ४० वर्षीय दीपक माली, दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय राजेन्द्रबहादुर चन्द, सोही ठाउँका ३८ वर्षीय धनबहादुर चन्द, ६५ वर्षीय प्रेमबहादुर चन्द, ६५ वर्षीय तारासिंह थापा र ५८ वर्षीय खेमसिंह कार्की छन्। जीप चालक मालीको उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पतालमा ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव निरिक्षक रमेश बहादुर पालले बताएका छन्।
दुर्घटनामा परेर दशरथचन्द नगरपालिका ६ का ४८ वर्षीय हर्कबहादुर चन्द गम्भीर घाइते भएका छन्। उनलाई थप उपचारका लागि धनगढी रेफर गरिएको छ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन। जीप सडकबाट पाँच सय मिटर तल खसेको प्रहरीले जनाएको छ।