पाैडेल पक्ष अगाडी देखिएपछि मतगणनास्थलमै आक्रमण, उम्मेदवारसहित ५ घाइते
नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत प्रदेशसभा क्षेत्रीय निर्वाचनका क्रममा रुपन्देहीमा मतगणनास्थलमा आक्रमण हुँदा ५ जना घाइते भएका छन् । प्रदेशसभा क्षेत्र नम्बर ३(१) को मतगणनास्थल सिद्धार्थनगर नगरपालिका भैरहवामा शुक्रवार मध्यराति मुख छोपेर आएका केही युवाले आक्रमण गर्दा १ जना उम्मेदवारसहित ५ जना घाइते भएका छन् ।
मतगणनामा रामचन्द्र पौडेल पक्षबाट प्यानल नै बनाएर उठेका पुरण श्रेष्ठले परिणाममा अग्रता लिँदै गरेको अवस्थामा जेनेरेटर बन्द गराउँदै एक हुल युवाहरू मतगणनास्थलमा प्रवेश गरेर आक्रमण शुरू गरेको बताइएको छ ।आक्रमणबाट सामान्य घाइते भएका ४ जनाको भैरहवामा उपचार चलिरहेको र गम्भीर घाइते भएका क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्तलाई थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रेफर गरिएको छ ।