सोरुमबाट मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीद्वारा सार्वजनिक

कञ्चनपुर । बेलौरी नगरपालिका-४ बेलौरी बजारको केएम इन्टरप्राइजेज बजाज सोरुमबाट सटरको ताला काटी सिसाको ढोका तोडेर मोटरसाइकल चोरी गर्ने चार जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका २० वर्षीय विवेक बम, १८ वर्षीय किरन नाथ, सोही नगरपालिकाको वडा नम्बर १२ कालागौंडीका १९ वर्षीय ठग्गी रानालाई मोटरसाइकल चोरीको अभियोगमा पक्राउ गरिएको छ। यसैगरी, सोही चोरीमा संलग्न अर्का पक्राउ पर्नेमा शुक्लाफाँटा-१ वन्साहा बस्ने १९ वर्षीय पारस विष्ट रहेका छन्। पक्राउ परेका चारै जनाको साथबाट प्रहरीले चोरी गरिएका तीन पल्सर मोटरसाइकल बरामद गरेको छ।

यही कात्तिक ७ गते राति चारै जनाले सोरुमको सीसीटिभीको तार काटेर सटर तोडी मोटरसाइल चोरी गरेका थिए। ‘चोरी भएका मोटरसाइकल तीन दिनको अवधिमै बरामद गरेका छौँ’, प्रहरी नायव उपरीक्षक न्यौपानेले भने, ‘चोरी गर्नेहरुलाई समेत खटिएको अनुसन्धान टोलीले पक्राउ गरेको छ।’

उनका अनुसार पक्राउ परेकामाथि कानुनबमोजिम कारबाही भइरहेको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.