नाकामा परीक्षण गरिने, नेगेटिभ आए मात्र नेपाल प्रवेश दिइने

धनगढी । जिल्ला प्रशासन कार्यालय कैलालीले भारत तथा विदेशबाट जिल्ला भित्रिनेहरुका लागि मापदण्ड तोकेको छ। बिहीबार एक सूचना जारी गर्दै कोभिड -१९ को संक्रमण रोकथाम, नियन्त्रण, निदान र उपचारमा प्रतिकुल असर नपर्ने गरी नेपाल आउने नेपाली तथा विदेशीहरुको आगमनलाई व्यवस्थित गर्न भन्दै विभिन्न मापदण्ड तोकेको हो।

नेपाल सरकार मन्त्रिपरिषदबाट स्वीकृत विदेशबाट नेपाल आगमन र नेपालबाट प्रस्थान गर्ने यात्रुहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ नेपाल प्रवेशका लागि सहजीकरण गरिएको सूचनामार्फत जनाइएको छ। कुनै व्यक्तिमा कोभिड १९ को लक्षण देखिए एन्टिजेन परीक्षण गरी नेगेटिभ आए मात्र नेपाल प्रवेश गर्न दिइने र अन्य मापदण्ड विदेशबाट नेपाल आगमन हुने, नेपाल प्रस्थान गर्नेहरुको यात्रा व्यवस्थापन सम्बन्धी आदेश २०७८ बमोजिम हुने प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ।

धनगढी उपमहानगरपालिकास्थित कैलाली भन्सार नाका र टीकापुर नगरपालिकास्थित खक्रौला भन्सार नाकामा सम्बन्धित स्थानीय तह, स्वास्थ्य कार्यालय कैलालीबाट हेल्थडेस्क स्थापना गरी सञ्चालनमा ल्याई नेपाल प्रवेशमा सहजीकरण गर्न भनिएको छ। त्यस्तै भारतीय नागरिकले प्रवेश गर्नुभन्दा अगाडि ७२ घण्टाभित्रको कोरोना परीक्षण रिपोर्ट, विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने अनलाइन फाराम भरी सोको प्रिन्ट ल्याई आउनुपर्ने सूचामा उल्लेख छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.