२० वर्ष कैद सजाय पाएका व्यक्ति १२ वर्षपछि पक्राउ
धनगढी । कञ्चनपुरमा अदालतले २० वर्ष कैद सजाय तोकेका फरार प्रतिवादी १२ वर्षपछि पक्राउ परेका छन् । मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतले २० वर्ष कैद सजाय सुनाइएका तत्कालिन झलारी पिपलाडी गाविस–३ का ४५ वर्षीय गणेशप्रसाद जोशीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले जोशीलाई उनकै घर नजिकबाट पक्राउ गरेर जिल्ला अदालतमा बुझाइएको जानकारी दिए । अदालतले उनलाई कैद भुक्तानका लागि कारागार पठाएको छ ।
जोशीले २०६४ सालको असारमा झलारी पिपलाडीकै एक महिलालाई विवाहको प्रलोभन देखाएर भारतको दिल्ली पुगाएर बेचबिखन गरेको अभियोग लागेको थियो । जिल्ला अदालतले २०६६ सालको जेठ २५ मा फैसला सुनाउँदै जोशीलाई २० वर्ष कैद र दुई लाख जरिवाना सुनाएको थियो ।