आज विश्वकर्मा पूजा, सुदूरपश्चिममा साँझ ‘बुणी पोल्ने’

धनगढी । आज विश्वकर्मा पूजा । देशभरका उद्योग कलकारखानाका मेसिन तथा फलामको पूजा गरेर मनाइँदै छ । मेसिन तथा फलामे उपकरण चलाउने मजदुरहरुले आजको दिन धुमधामसँग विश्वकर्मा पूजा गर्दछन् ।प्रविधि र मेसिनरी सामाग्रीहरूको पूजा गरी भगवान विश्वकर्माको पूजा गर्ने परम्परा छ । नेपालमा असोज १ गतेलाई विश्वकर्मा दिवसको रूपमा पनि मनाइन्छ ।

हिन्दु संस्कृति अन्तर्गत शिल्प संकायहरू, कारखानाहरू, उद्योगहरूमा भगवान विश्वकर्माको महत्व दर्शाइएको छ । एकै रातमा समुद्रका बीचमा ‘भेद द्वारका’ को निर्माण गरेकाले विश्वकर्मालाई सफल वास्तुविद्का रुपमा मानी परापूर्वकालबाटै पूजाआजा गर्ने परम्परा बसेको धर्मशास्त्रका ज्ञाताहरु बताउँछन् । भगवान विश्वकर्मा सम्झनामा विश्वकर्मा बाबाको पूजा गरी उनको विद्वताको सम्मान गर्ने र यसो गरेमा आफूमा पनि विश्वकर्माको गुण प्राप्त हुने विश्वास गरिन्छ ।

आज सवारीसाधन, मेसिन, कल पाटपुर्जा तथा धातुका उपकरणको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ ।विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस् भनेर मेसिनको पूजा गर्ने चलन छ ।याेसँगै सुदूरपश्चिममा आज धुमधामका साथ ‘बुढी पोल्ने’ पर्व मनाइँदैछ। विजय उत्सवका रुपमा मनाइने यो पर्वमा बुढी अर्थात् राक्षसीे पुतनालाई पोल्ने गरिन्छ।

परम्परागत किंबदन्तीअनुसार भगवान श्रीकृष्णले राक्षसी प्रवृतिकी पुतनालाई मारेपछि उनका साथी गोठालाहरुले पुतनाको शव दहन गरेको कथन रहेको छ। द्वापर युगमा विशाक्त दुध सेवन गराई बालबालिकाहरुको ज्यान लिने गरेकी राक्षसी पुतनालाई भगवान श्रीकृष्ण दुध चुसी मारेको तथा विशाक्त दुध चुस्दा पनि भगवान श्रीकृष्ण बाँचेको खुशियालीमा असोज संक्रान्तीका दिन यो पर्व मनाईने गरिएको छ ।

सुदूरपश्चिममा भाद्र संक्रान्तीका दिन गाडिएको सल्लाको वा अन्य बोट विरुवाको लिङगोमा आज साँझपख बुढी पोलिने र सोही ठाउँमा काक्रा खाँदै लुतो बाँड्ने प्रचलन छ। ओल्के संक्रान्तिका दिन गोठालाले बुढीको प्रतिमा राखेपछि दैनिक त्यसमा रुखका हाँगाहरु थप्ने गर्छन्। दैनिक थप्दा केही स्थानमा निकै ठूलो बुढी बन्ने गर्छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.