मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा कैलाली प्रहरी सर्वोत्कृष्ट
धनगढी । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले कैलाली प्रहरीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट कार्य गरे वाफत सम्मान गरेको छ । मन्त्रालयद्धारा बुधवार काठमाण्डौमा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका सदस्य सलोनी प्रधान सिंह र मन्त्रालयका सचिव याम कुमारी खतिवडा (वास्कोटा) ले जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारीलाई मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणमा सर्वोत्कृष्ट सम्मान प्रदान गरिन ।
१५ औं मानब बेचबिखन तथा ओसार पसार नियन्त्रण राष्ट्रिय दिवसको अवसरमा भाद्र २० गते नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले मानब बेचबिखन तथा ओसार पसार नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय कैलालीले गरेको उल्लेखनीय कार्यको मूल्याकंन गर्दै जिल्ला प्रहरी कार्यालय कैलालीलाई सर्वोत्कृष्ट जिल्ला घोषणा गरेको थियो ।जिल्ला प्रहरी कार्यालय कैलालीले विगत एक बर्षमा मानब बेचबिखन तथा ओसार पसार गरेको कसुरमा १६ वटा घटनामा २६ जनालाई पक्राउ गरी मुद्दा चलाएको थियो । १६ वटा मुद्दामध्ये ९ वटा मुद्दा मानब बेचबिखनका साथसाथै जबरजस्ती करणीमा समेत चलाएको थियो ।
त्यसैगरी यस अबधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले सहयोगी संस्था तथा भारतीय प्रहरीको सहयोग र समन्वयमा १४ बर्षीय बालिकालाई भारतको बैंगलोरबाट उद्दार गरी पारिवारिक पुनर्मिलन गराई दोषी उपर मानव बेचबिखन तथा ओसार पसार र जबरजस्ती करणीमा मुद्दा चलाएको थियो । सोही अवधिमा जिल्ला प्रहरी कार्यालय कैलालीले विभिन्न संघ संस्था संगको सहयोग र समन्वयमा ८६ जना महिला, २ बालक र ३८ बालिका गरी १२६ जनालाई सिमा नाकाबाट उद्दार गरी परिवारमा फर्काईएको थियो भने ३ महिला, १७ बालक र १० बालिका गरी ३० जनालाई बेवारिसे तथा अलपत्र अवस्थामा फेलापारी निजहरुको उद्दार तथा पारिवारिक पुर्नमिलन गराएको थियो ।