सुदूरपश्चिम सरकारलाई निरन्तरता दिने एकीकृत समाजवादीको निर्णय

धनगढी । नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेश सरकारलाई निरन्तता दिने निर्णय गरेको छ । नेकपा एमाले विभाजन भएपछि पहिलो पटक सोमबार धनगढीमा बसेको संसदीय दलको बैठकले माओवादी केन्द्रको नेतृत्वमा रहेको प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको हो ।

प्रदेशसभामा सबैभन्दा ठूलाे दल रहेकाे नेकपा (एकीकृत समाजवादी) प्रदेशसभा सदस्य दुर्गा विकले ज्येष्ठ सदस्य बलबहादुर सोडारीको अध्यक्षतामा बसेको पहिलो बैठकले प्रदेश सरकारलाई समर्थन दिने निर्णय गरेको जानकारी दिइन् । विकले संसदीय दलको विधान बनाउनका लागि तीन सदस्यीय समिति समेत गठन गरिएको पनि बताइन् । संसदीय दलको नेता चयनका सम्बन्धमा बैठकमा सामान्य छलफल भए पनि टुङ्गोमा पुग्न नसकेको बताउदै उनले संसदीय दलको विधानलाई पूर्णता दिएपछि मात्र दलको नेता, प्रमुख सचेतक, सचेतक र संसदीय दलका पदाधिकारी चयन गर्ने समझदारी भएको बताइन् ।

एकीकृत समाजवादीको संसदीय दलको नेताका लागि भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारी, आन्तरिक मामिला तथा कानून मन्त्री पूर्णा जोशी, तत्कालीन नेकपा एमालेका प्रमुख सचेतक तारा लामा तामाङ लगायतका आकांक्षी छन् । सोमबारको बैठकमा दलको नेता चयन गर्ने विषयमा छलफल भए पनि आकांक्षीबीच सहमति नहुँदा प्रक्रिया अघि नबढेको स्रोतले बताएको छ । बैठक मंगलबार दिउँसो पनि बस्नेछ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.