डाेटीमा गर्भपतनलाई अस्थायी साधन मान्न थालियाे

डोटीमा पछिल्लो समय सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको पाइएको छ । सुरक्षित गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकास हुन थालेको भन्दै यहाँका स्वास्थ्यकर्मी चिन्तित बनेका छन् । असावधानीका कारण गर्भपतन गर्नेको सङ्ख्या बढेको भन्दै स्वास्थ्यकर्मी चिन्तित बन्ने गरेका हुन् ।

अन्तर्राष्ट्रिय दातृ निकाय आइपासको आर्थिक सहयोग तथा जिल्लामा कार्यरत संस्था सामुदायिक विकास मञ्चद्वारा यहाँका २२ वटा स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालन गरिएपछि सुरक्षित गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्दै गएको हो । नचाहेको अवस्थामा गर्भ रहे वा अन्य कारण रहेको गर्भलाई पतन गर्न पाउने सरकारले कानूनी मान्यता दिएपछि दातृ निकायको सहयोगमा जिल्लामा निजी क्षेत्रको गैरसरकारी संस्था सामुदायिक विकास मञ्चले सुरक्षित गर्भपतन सेवाका लागि आवश्यक सहयोग गर्दै आएको छ ।

कोरोना सङ्क्रमण नियन्त्रणका लागि गरिएको बन्दाबन्दीका कारण पुरुष घरैमा हुने र नचाहँदा नचाहँदै पनि गर्भ रहने गरेका कारण सुरक्षित गर्भपतन सेवा लिन बाध्य हुने गरेको सेवाग्राही महिलाले बताउने गरेको स्वास्थ्यकर्मीको भनाइ छ । गर्भ निरोधक साधनको प्रयोग गर्ने बानीको विकास नभएका कारण जिल्लामा पछिल्लो समय गर्भपतन सेवा लिनेको सङ्ख्या बढ्ने गरेको पाइएको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक तथा स्वास्थ्यकर्मी आइजङ्ग कुँवरले बताए ।

यहाँको पश्चिमी क्षेत्रमा पर्ने सायल गाउँपालिकाको इलाका स्वास्थ्य कार्यालय दौडमा मात्रै साउनसम्म ८० जना महिलाले सुरक्षित गर्भपतन सेवा लिएको सो कार्यालयका प्रमुख शिवराज जोशीले बताए । जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या दिनप्रति दिन बढेको प्रति यहाँका स्वास्थ्यकर्मी नै चिन्तित बनेका छन् । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा रहेका सबै स्वास्थ्य संस्थामा एक वर्षको अवधि कम्तीमा पनि दुई हजार २०० भन्दा बढी महिलाले गर्भपतन गराएका छन् ।

कार्यालयका अनुसार गत आर्थिक वर्षमा जिल्लामा एक हजार ३१ महिलाले सुरक्षित गर्भपतन गराएका थिए । गर्भपतन सेवा कुनै घटना वा आकस्मिक अवस्थामा गराउने विषय भए पनि पछिल्लो समयमा जिल्लामा गर्भपतन सेवा अस्थायी साधनका रूपमा विकसित हुन थालेको जिल्ला स्वास्थ्य कार्यालयका तेजबहादुर शाहीले बताए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.