सुदूरपश्चिम प्रदेश सरकारद्वारा २२० किलोमिटर सडक कालोपत्रे

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले दुई सय २० किलोमिटर सडक कालोपत्रे गरेको छ । संघीय संरचनाअनुसार पहिलो पटक प्रदेश सरकार गठन भएको तीन आर्थिक वर्षमा दुई सय ८५ किलोमिटर सडक ट्रयाक निर्माण गर्दै दुई सय २० किलोमिटर सडक कालोपत्रे गरेको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको तथ्याङ्कअनुसार आर्थिक वर्ष २०७६/०७७ सम्म एक सय २८ किलोमिटर सडक कालोपत्रे गरेको र गत वर्ष ९२ किलोमिटर सडक कालोपत्रे गरेको उल्लेख छ । गत आर्थिक वर्ष २०७७/०७८ मा दुई सय ८५ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरिएको छ । यस्तै, एक सय ४३ किलोमिटर सडक ग्राभेल र ८ वटा मोटरेवल पूल निर्माण गरिएको भौतिक पूर्वाधार विकास मन्त्रालयका सूचना अधिकारी छविराज जैशीले बताए ।

सडक तथा पूल निर्माण, जलस्रोत तथा सिँचाई, भवन निर्माण र तटबन्धन निर्माणमा प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले साढे ४ अर्ब बढी बजेट खर्च गरेको जनाएको छ । गत वर्ष ६ अर्ब ३२ करोड ६६ लाख पूँजिगत बजेट रहेकोमा ४ अर्ब ५१ करोड २ लाख खर्चेर ९२ किलोमिटर सडक कालोपत्रे, दुई सय ८५ किलोमिटर सडकको ट्रयाक निर्माण, १३ हजार २ सय ७८ परिवारमा खानेपानी बिस्तार, दुई हजार ७ सय ८५ हेक्टर क्षेत्रफलमा सिंचाई कुलो निर्माण र १८ हेक्टर जमिनमा भूक्षय तथा कटान नियन्त्रण गरिएको जैशीले बताए ।

सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक वर्ष २०७७/०७८ मा जनता आवास कार्यक्रममार्फत दुई हजार ९ सय ९३ घर निर्माण, ८ सय एक घर निर्माणको चरणमा, २२ घर मर्मत र एक सय ७३ सामुदायिक तथा सरकारी घर निर्माण गरिएको जनाइएको छ ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.