कार्यक्रम नतिजामुखी बनाउन अजयमेरुले गर्याे कर्मचारीसँग ‘करार सम्झौता’
डडेल्धुरा । डडेल्धुराको अजयमेरु गाउँपालिकाले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कर्मचारीसँग करार सम्झौता गरेको छ । गाउपालिकाको कार्यसम्पादनलाई थप ब्यवस्थित र प्रभावकारी बनाउन आव २०७८/०७९ को लागि अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृत साथै प्रमुख प्रशासकीय अधिकृत र बिषयगत शाखा र वडा कार्यालय बिच कार्य सम्पादन करार सम्झौता गरिएको हो ।
जस अनुसार गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले प्रमुुख प्रशासकिय अधिकृत गंगाराम सापकोटासंग करार सम्झौता गरेका छन भने प्रमुख प्रशासकीय अधिकृत सापकोटाले बिषयगत शाखाहरु कृषि, पशु, शिक्षा,सुचना तथा प्रविधी, भौतिक पूर्वाधार, लेखा, योजना, स्वास्थ्य लगायतका शाखा र वडा कार्यालयहरुसंग करार सम्झैता गरेको गाउँपालिकाले जनाएको छ ।
वार्षिक क्रियाकलापहरू नतिजामुखि बनाउनका लागि अध्यक्ष र प्रमुख प्रशासकिय अधिकृत साथै प्रमुख प्रशासकिय अधिकृत र शाखा प्रमुख वडा सचिवविच कार्य सम्पादन करार सम्झैता गरिएको अध्यक्ष भट्टले बताए । कुनै काम गर्न वा नगर्नका लागि परस्परमा कानुनी अधिकार र दायित्व सिर्जना हुने गरी दुई पक्ष बिच हुने सम्झौता वा कबुललाई करार भनिन्छ ।