डक्टर उत्पादनमा गेटा विश्वविद्यालय: नयाँ शैक्षिक सत्रदेखि पढाइ सुरु हुने

धनगढी । सुदूरपश्चिमका लागि बहुप्रतीक्षित स्वास्थ्य शिक्षा केन्द्रका रूपमा रहेको सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय अब औपचारिक रूपमा सञ्चालनमा आउने भएको छ। धनगढीको गेटास्थित विश्वविद्यालयमा आगामी शैक्षिक सत्रदेखि चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने निर्णय गरिएको छ। विश्वविद्यालय सभाको चौथो बैठकले विभिन्न चार वटा सङ्कायमा अध्ययन(अध्यापन सुरु गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधि, युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले विश्वविद्यालय सञ्चालनसँगै विद्यार्थी भर्ना कोटा पनि निर्धारण गरेको छ। विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुनिलकुमार जोशीका अनुसार आगामी शैक्षिक सत्रदेखि नै कक्षाहरू औपचारिक रूपमा सञ्चालन गरिनेछ। निर्णयअनुसार ५० जना एमबिबिएस, ३० जना बीएस्सी नर्सिङ, २० जना बीएमएलटी र २० जना अप्टोमेट्रीतर्फ विद्यार्थी भर्ना गरिनेछ। साथै, ३ सय शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने तयारीसमेत अघि बढाइएको छ। 

सरकारले विश्वविद्यालय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोतसमेत सुनिश्चित गरेको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ७५ प्रतिशत छात्रवृत्तिको व्यवस्था गरिसकेको छ। आर्थिक वर्ष ०८२/८३ को जेठ–असारका लागि चिकित्सकहरूको तलबबापत ५ करोड रुपैयाँ बजेट उपलब्ध भइसकेको छ भने आगामी वर्षका लागि २ अर्ब ५३ करोड रुपैयाँ बजेट माग गर्दै अर्थ मन्त्रालयमा प्रस्ताव पेश गरिएको छ।

सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सञ्चालनमा आउनु सुदूरपश्चिमका लागि ऐतिहासिक उपलब्धिका रूपमा हेरिएको छ। यसले क्षेत्रमै गुणस्तरीय चिकित्सा शिक्षा उपलब्ध गराउनुका साथै स्वास्थ्य सेवाको विस्तारमा टेवा पुग्ने अपेक्षा गरिएको छ। साथै, उच्च शिक्षा अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता कम भई क्षेत्रीय विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.