देउवा दम्पतिविरुद्ध इन्टरपोलमार्फत नोटिस जारीकाे तयारी

काठमाडौं । हाल उपचारका लागि हङकङमा रहेका पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणाविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानलाई अघि बढाउन सरकारले पक्राउ पुर्जी जारी गरेको छ । उनीहरुकाे परिवारको अस्वाभाविक कारोबार र सम्पत्ति रहेको देखिएपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रका आधारमा काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो ।

देउवा दम्पती देश बाहिर रहेकाले नेपाल ल्याउन इन्टरपोलमार्फत प्रहरीले आवश्यक गृहकार्य अघि बढाएको छ । ‘इन्टरपोलले अदालती कागजात माग्ने हुँदा यसअघि इन्टरपोलमार्फत नोटिस जारी गर्न सम्भव थिएन । अब भने नोटिसका लागि बाटो खुलेको छ । त्यसको प्रक्रिया अब अघि बढ्छ’ एक उच्च प्रहरी अधिकारीले भने । इन्टरपोलमार्फत नोटिस जारीका लागि प्रहरी प्रधान कार्यालयस्थित नेसनल सेन्ट्रल ब्युरो ९एनसीबी०ले प्रक्रिया अघि बढाएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

इन्टरपोलमार्फत नोटिस जारी भएको अवस्थामा इन्टरपोलका १९६ सदस्य मुलुकले देउवा दम्पतीलाई पक्राउ गर्न सक्नेछन् । यसरी पक्राउ परेको अवस्थामा कानुनी प्रक्रिया पूरा गरेर उनीहरूलाई नेपाल ल्याउनुपर्ने प्रावधान छ ।

यसअघि गत २३ र २४ भदौमा जेन–जी आन्दोलन हुँदा देउवा निवास बूढानीलकण्ठमा जलेका पैसाका रास भेटिएका थिए । देउवा निवासमा भेटिएका नोटहरूको भिडियोसमेत सार्वजनिक भएको थियो । यद्यपि, देउवा परिवारले भने सो भिडियो एआई निर्मित भएको भन्दै खण्डन गरेको थियो ।

त्यसपछि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले घरमा जलेको पैसाको मुचुल्कासमेत उठाएर अनुसन्धान अघि बढाएको थियो । अहिले उक्त फाइलसहित थप अनुसन्धान गर्न भन्दै केही दिनअघि मात्रै सीआईबी पठाइएको थियो ।

विभागका अनुसन्धान अधिकारीहरूका अनुसार उहाँहरूको चलअचल सम्पत्ति छानबिनका क्रममा अस्वाभाविक आर्जन भेटिएपछि सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान हुन लागेको हो ।

देउवा र आरजु विदेशमा नै रहेको बेला बूढानीलकण्ठस्थित देउवा निवास भत्काउने काम भएको थियो । तर, प्रमाण नष्ट हुनसक्ने भन्दै प्रहरी प्रशासनले अनुसन्धान नसकिँदासम्म घर भत्काउन रोक लगाएको थियो ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.