काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले डिसहोमको कर्मचारी बनेर सर्वसाधारणलाई ठगी गर्ने एक गिरोहलाई नियन्त्रणमा लिएको छ। विशेष अफरको लोभ देखाएर ग्राहकहरूबाट रकम असुल्ने कार्यमा संलग्न धादिङकी २२ वर्षीया आरती सिंखडा, दोलखाका २२ वर्षीय विष्णु कार्की र रामेछापका ४७ वर्षीय असल सिंह तामाङलाई प्रहरीले काठमाडौँको टोखाबाट पक्राउ गरेको हो।
यो गिरोहले डिसहोमका नियमित ग्राहकहरूलाई फोन गरेर ‘एक वर्षको रिचार्ज गर्दा चार महिनाको बोनस रिचार्ज’ उपलब्ध गराउने भन्दै झुक्याउने गरेको पाइएको छ। उनीहरूले ग्राहकको विश्वास जित्नका लागि नक्कली रसिद र छापको समेत प्रयोग गर्ने गरेका थिए। अनुसन्धानका क्रममा मुख्य योजनाकार आरती सिंखडाले करिब चार वर्षसम्म डिसहोमको सब-डिलर र इन्टरनेट सेवामा काम गरेको खुलेको छ। सोही समयमा उनले बनाएका पुराना ग्राहकहरूको विवरण प्रयोग गरी यो ठगी धन्दा चलाएको प्रहरीको दाबी छ।
प्रहरीले उनीहरूको साथबाट प्रविधि इम्पेक्स प्रालिको छाप, रसिद प्याड, आरती सिंखडाको नाममा रहेको नक्कली परिचयपत्र र ग्राहकहरूको हिसाब किताब राखिएको डायरी समेत बरामद गरेको छ। प्रारम्भिक अनुसन्धान अनुसार यस गिरोहले हालसम्म ३६४ जनाभन्दा बढी व्यक्तिलाई ठगी गरिसकेका छन्। उनीहरूले सर्वसाधारणबाट २९ लाख रुपैयाँभन्दा बढी रकम असुलेको देखिएको छ।