धनगढी । सुदूरपश्चिम प्रदेश सभाको सातौँ अधिवेशन आज (मंगलबार) देखि सुरु हुँदैछ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आज अपराह्न ४ बजेकालागि अधिवेशन आह्वान गरेका हुन् ।
गत चैत १८ गते बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाहले नेपालको संविधानको धारा १८३ को उपधारा ९१० बमोजिम चैत २४ गते मंगलबार अपराह्न ४ बजेका लागि प्रदेशसभा अधिवेशन आह्वान गर्न सिफारिस गरेका थिए । यससँगै प्रदेश सभाको सातौँ अधिवेशन हिउँदे औपचारिक रूपमा सुरु हुनेछ । यसअघि प्रदेश सभाको छैटौँ अधिवेशन गत माघ २५ गते अन्त्य भएको थियो ।
त्यसपछि लामो समयसम्म अधिवेशन नबस्दा प्रदेश सभाको गतिविधि प्रभावहीन जस्तै बनेको थियो । विशेषगरी ‘जेन–जी आन्दोलन’ पछि प्रदेश सभा निष्क्रिय जस्तै देखिएको थियो, जसले प्रदेशको नीति निर्माण र कानुन निर्माण प्रक्रियामा असर पारेको बताइन्छ । अब सुरु हुन लागेको सातौँ अधिवेशनबाट प्रदेश सरकारका नीति तथा कार्यक्रम, बजेट तयारी, तथा विभिन्न विधेयकहरू अघि बढाउने अपेक्षा गरिएको छ । साथै, प्रदेशका समसामयिक राजनीतिक, आर्थिक तथा सामाजिक विषयमा पनि गहन छलफल हुने विश्वास गरिएको छ ।