बिचौलिया पक्राउपछि यातायात मालपाेतमा सहज हुन थाल्यो सरकारी सेवा

धनगढी । नयाँ सरकार बनेसँगै सरकारी कार्यालयको सेवा प्रवाहमा केही परिवर्तन आउन थालेको छ । बिचौलियाको बिगबिगीले अस्तव्यस्त मालपोत, नापी, यातायात व्यवस्थालगायतको सरकारी कार्यालयको सेवा प्रवाहमा सुधार आएको हो ।

सरकारले सरकारी कार्यालयको सेवा प्रवाहलाई बिचौलियामुक्त बनाउने अभियान चलाएपछि कैलालीका सरकारी कार्यालयको सेवा प्रवाहमा परिवर्तन आएको सेवाग्राहीले प्रतिक्रिया दिएका छन् । उनीहरूका अनुसार सरकारी कार्यालयमा फाइल अड्काउने, ढिलासुस्ती हुने, कर्मचारीले राम्रो व्यवहार नगर्ने जस्ता समस्या हटेका छन् ।

आइतबार मालपोत कार्यालयमा सेवा लिएर फर्किरहनुभएका धनगढी उपमहानगरपालिका–१८, फूलबारीका शेरबहादुर पौडेलले भने, “अहिले सेवामा धेरै सुधार भएको महसुस भयो । काम फटाफट र सहज तरिकाले भइरहेको छ ।”

जिल्ला प्रशासन कार्यालय, मालपोत, यातायात, आन्तरिक राजस्व कार्यालय, अदालतलगायतका सरकारी कार्यालय सेवाग्राहीका धेरै भिडभाड हुने कार्यालय हुन् । नयाँ सरकार बनेपछि जनताको काम सहज रूपमा हुन थालेको धनगढी उपमहानगरपालिका–१ का लक्ष्मणबाबु नेपालीले बताए । मालपोत, नापी कार्यालयमा पुगेका उनले सरकारी कार्यालयको सेवा प्रवाहमा धेरै परिवर्तन आएको बताए । उनले भने, “अहिले सरकारी कार्यालयमा फटाफट काम भइरहेको छ । कुनै ढिलासुस्ती भएको जस्तो लागेको छैन ।”

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.