काँग्रेस महामन्त्री शाहद्वारा सक्रिय राजनीति त्यागकाे घोषणा

धनगढी । नेपाली काँग्रेसका नेता  एवं सुदूरपश्चिम प्रदेश महामन्त्री नरनारायण शाह मनुले पार्टीभित्रको वर्तमान राजनीतिक अवस्थाप्रति असन्तुष्टि जनाउँदै अब उपरान्त सक्रिय रूपमा राजनीति नगर्ने तथा तटस्थ बस्ने घोषणा गरेका छन्।

शाहले भावुक अभिव्यक्ति सार्वजनिक गर्दै आफ्नो परिवार झन्डै ८ दशकदेखि नेपाली काँग्रेससँग जोडिएको स्मरण गरेका छन्। उनका हजुरबुबा स्वर्गीय लोकेन्द्र बहादुर शाह र बुबा स्वर्गीय मोहन बहादुर शाह दुवैजना जिल्ला पार्टी सभापति भइसकेका साथै आफू स्वयं पनि दुई कार्यकाल जिल्ला सभापति भई हाल सुदूरपश्चिम प्रदेश कार्यसमितिको महामन्त्रीको जिम्मेवारी सम्हाल्दै आएको उनले उल्लेख गरेका छन्।

तर पछिल्लो समय पार्टी नेतृत्वले खेलेको भूमिकाप्रति पूर्ण असन्तुष्टि जनाउँदै उनले यस्तो जटिल र संवेदनशील परिस्थितिमा पार्टी एकजुट हुन नसकेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। यही कारणले आफूले भारी मनका साथ अबदेखि पार्टीका कुनै पनि औपचारिक वा अनौपचारिक कार्यक्रममा सहभागी नहुने निर्णय लिन बाध्य भएको बताएका छन् ।

शाहले आगामी दिनमा दलगत राजनीतिबाट टाढा रहने संकेत गर्दै पार्टी विभाजनतर्फ गए त्यसले आफूजस्ता लोकतन्त्र, राष्ट्रियता र समाजवादप्रति आस्थावान कार्यकर्ताको भावनामाथि गम्भीर आघात पुग्ने चेतावनी दिएका छन्।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.