देउवा, ओली, प्रचण्डसहित उच्चपदस्थको सम्पत्ति छानबिन सुरु

काठमाडौं । सरकारले मुलुकका सबैभन्दा उच्च पदस्थ राजनीतिक व्यक्तिको सम्पत्ति छानबिन सुरु गरेको छ। पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल ‘प्रचण्ड’का साथै पूर्वमन्त्रीहरू आरजु राणा, दीपक खड्काविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु भएको हो।

पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता खड्कालाई आइतबार प्रहरीको अनुसन्धान ब्युरो (सीआईबी)ले पक्राउ गरेर सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान सुरु गरिसकेको छ। थप सात दिन थुनामा राखेर उनिमाथि अनुसंधान थाल्न अदालतले आदेशपनि दिइसकेकाे छ ।

सम्पत्ति शुद्धीकरणको विभागको पत्रको आधारमा नेपाल प्रहरीले ‘हाइप्रोफाइल’ व्यक्ति र उनीहरूका परिवारको सम्पत्तिको अनुसन्धान सुरु गरेको हो। प्रचण्डकी छोरी गंगा दाहाल र आरजु राणाका भाइ भूषण राणाविरुद्ध पनि यस्तै कसुरमा प्रहरीले अनुसन्धान सुरु गरेको छ । देउवा पुत्र जयवीर देउवाको नाममा भएको सम्पत्तिको पनि खोजबिन भइरहेको स्रोतले बतायो ।

गृह मन्त्रालय स्रोतकाअनुसार राजनीतिक दलका उच्च तहका नेता र कर्मचारी गरी २०० बढी व्यक्तिको सम्पत्ति छानबिन गर्नका लागि सरकारले सम्पत्ति शुद्धीकरण विभागलाई पत्र पठाएको छ। विभागले ०४८ सालयता सत्तामा हालीमुहाली गरेका पूर्वशीर्ष नेता तथा उच्च पदस्थ कर्मचारीमाथि छानबिन गर्न प्रहरीलाई पत्र पठाएको छ।

शासनमा व्याप्त भ्रष्टाचार, सम्पत्ति लुकाउने प्रवृत्ति तथा दण्डहीनताको अन्त्य गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहने गरी १५ दिनभित्र अधिकारसम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने शासकीय सुधार कार्यसूचीमा उल्लेख छ।  तर, समिति नबन्दै सरकारले ‘हाइप्रोफाइल’ व्यक्तिको चल अचल सम्पत्ति र आम्दानीको स्रोतबारे छानबिन सुरु गरेको हो।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.