कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारको सहयोगमा कञ्चनपुरको महेन्द्रनगरस्थित कभर्डहल परिसरमा निर्माणाधीन बहुउद्देश्यीय कभर्डहलको काम आठ महिनादेखि ठप्प छ । विसं २०८० असारदेखि प्रदेश सरकारको सहयोगमा निर्माण सुरु भएको बहुउद्देश्यीय कर्भहलको ७० प्रतिशत काम सकिए पनि प्यारापिट निर्माणका विषयमा उल्झन आउँदा निर्माण रोकिएको हो ।
कभर्डहल निर्माणको जिम्मा पाएको बैजनाथ–कन्टुर जेभीका सञ्चालक सुनिल कुवँरले प्यारापिट निर्माणका लागि भेरिएसन अर्डर (भिओ) नहुँदा आठ महिनादेखि काम रोकिएको बताए । “आठ महिनाअघि भिओका लागि प्रक्रिया थालिए पनि प्रदेश सरकारबाट सुनुवाइ भएन”, उनले भने, “प्रदेश सामाजिक विकास मन्त्रालयले उक्त विषय किनारा लगाउनुपर्ने हो तर ढिलो भयो ।”
तेह्र करोड तीन लाख २८ हजारमा निर्माण हुने कभर्डहल निर्माणको समयावधि आगामी असारसम्म रहेको निर्माण कम्पनीले जनाएको छ । तीस महिनाभित्र निर्माण सक्ने गरी ठेक्का सम्झौता भए पनि सरकारी प्रक्रियागत ढिलाइकै कारण काम हुन नसकेको हो ।