काठमाण्डौ । आईसीसी टी–२० विश्वकप क्रिकेटको दोस्रो खेलमा नेपालले आज इटालीसँग खेल्दैछ । पहिलो खेलमा इङ्ल्यान्डसँग ४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा जीत निकाल्ने लक्ष्यका साथ मैदान उत्रनेछ । नेपाल र इटालीको खेल मुम्बईको वानखेड़े स्टेडियममा दिउँसो सवा ३ बजे शुरू हुनेछ ।
यसअघि गएको आइतवार भएको पहिलो खेलमा इङ्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपाल ४ रनले चुकेको थियो । अघिल्लो विश्वकपमा दक्षिण अफ्रिकासँग नेपाल १ रनले पराजित भएको थियो । यसअघि दुईपटक विश्वकप खेलेको नेपाल समूह चरणभन्दा माथि जान सकेको छैन । नेपाल लगातार रोहितकुमार पौडेलको कप्तानीमा विश्वकप खेल्दैछ ।
विश्वकपको समूह ‘सी’ मा रहेको नेपालले इङ्ल्यान्डसँग खेल्दै विश्वकपको शुरूवात गरेको हो । समूह ‘सी’ मा नेपालसहित दुई पटकको विश्वकप विजेता वेस्ट इन्डिज, इङ्ल्यान्डसँगै स्कटल्यान्ड र इटाली छन् । पहिलो खेलको प्रदर्शनपछि नेपाली टोलीले यस्तै प्रदर्शन गरे इटलीलाई हराउने समर्थकहरूको विश्वास छ ।