मुम्बइमा खेलाडीसँगै दर्शकले रुदै भने नेपाल कमजोर छैन्

मुम्बई । भारतकाे मुम्बईस्थित वानखेडे स्टेडियममा आइतबार भएको समूह ‘सी’ को खेलमा दुईपल्टको विश्वविजेताविरुद्ध नेपाल अन्तिम बलसम्म जितको दौडमा थियो। तर, चार रनले पराजित भयो। स्कोरलाइनले हार देखाए पनि प्रदर्शनले नेपाल कमजोर टोली नरहेको संकेत देखाएकाे दर्शकहरुले बताएका छन्।

तेस्रोपल्ट विश्वकप खेलिरहेको नेपालले १८५ रनको लक्ष्य पछ्याएको थियो। भलै विश्वकपमा नेपालको यो ठुलो रन चेज थियो। तर, सुरुआतदेखि नै दबाबमुक्त र योजनाबद्ध क्रिकेट खेल्यो। पावरप्लेमा जोखिमसँगै रन बटुल्ने रणनीतिले इङ्ल्यान्डका बलरहरूलाई लगातार रक्षात्मक बनायो। कुशल भुर्तेल र आसिफ शेखले पहिलो विकेटका लागि ३७ रन जोड्दै लक्ष्य पछ्याउन सकिने आधार तयार गरेका थिए। तर, दुई प्रारम्भिक विकेट गुमेपछि नेपाल दबाबमा देखिएपनि त्यसपछि आएको साझेदारीले खेलको दिशा परिवर्तन गर्‍यो।

कप्तान रोहितकुमार पौडेल र दीपेन्द्रसिंह ऐरीले इनिङ्स सम्हाल्दै रन गति नियन्त्रणमा राखे। दुवैबीचको ८२ रनको साझेदारी नै नेपाललाई खेलमा टिकाइराख्ने निर्णायक पक्ष बन्यो। दीपेन्द्रले आक्रामकता देखाउँदा रोहितले ‘स्ट्राइक रोटेसन’ गरिरहे। सही समयको प्रतीक्षा गर्दै नेपाललाई अगाडि बढाए। नेपाल अन्तिम पाँच ओभरमा आवश्यक रनरेटको दायराभित्रै थियो। खेलपछि रोहितले ब्रोडकास्टरसँग भने,‘हामी अन्तिम पाँच ओभरका लागि विकेट जोगाएर जान चाहन्थ्यौँ। प्रतिओभर १०-१२ रन निकाल्ने योजना थियो।

तर, १५औँ ओभरमा दीपेन्द्र साम करनको बलमा टम बन्टनद्वारा क्याच आउट भएपछि खेल इङ्ल्यान्डतर्फ मोडिन थाल्यो। २९ बलमा ४४ रन बनाएका दीपेन्द्रको विकेटसँगै नेपालको आक्रामक विकल्प सीमित भयो। टिकेर खेलिरहेका रोहित पनि ३९ रनमा आउट भएपछि भने नेपाल जितबाट बाहिरिएजस्तो बनेको थियो। तर, लोकेश बमको आक्रामक इनिङ्सले भने नेपाल पुन: खेलमा फर्कियो । 

उनले २० बलमा ३९ रन बनाए। अन्तिम ओभरमा नेपाललाई जितका लागि १० रन आवश्यक थियो। तर, उनले अन्तिम दुई बलमा आवश्यक बाउन्ड्री प्रहार गर्न सकेनन्। अन्तिम ६ बलमा जम्मा ६ रन आउँदा नेपाल जितनजिक पुगेर पराजित हुन पुग्यो। यसअघि बलिङमा नेपालका लागि दीपेन्द्र सिंह ऐरी र नन्दन यादवले २-२ विकेट लिए । डेब्युटान्ट शेर मल्ल र सन्दीप लामिछानेले समान १ विकेट लिए ।

सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.