यस्ताे छ- एक निष्ठावान कार्यकर्ताकाे प्रचण्डलाई सुझाव
श्रद्धेय अध्यक्ष कमरेड
लालसलाम ।
यो भन्दा अघि मूलभूत रूपमा मैले सुझाव पेस गरिसकेको छु।थप कुरा संक्षेपमा सुझाव दिन चाहन्छु।
१) आफ्नै पार्टीलाई मजवुत बनाउन जोड़ दिने र कम्युनिस्ट एकता र ध्रुविकरण मा ध्यान दिने।
२) संसदीय व्यवस्था मूलतः असफल सिद्ध भइसकेको अवस्थामा अब यो व्यवस्थामा टेक्दै आगामी शासकीय स्वरूपको लागि कार्यदिशामा शिफ़्ट गर्ने।
३) पार्टीको उचाइ बढाउने मात्र नभई आधार मजवुत बनाउन गहिरो जरा हाल्ने गरी दीर्घकालीन रणनीति तय गर्ने।
४) मूल रूपमा शान्ति प्रक्रिया अघि भएको पार्टी काे संगठन विघठन भइसके पछि हाल सम्म तङ्ग्रिन नसकेको साँचो हो।यसले निश्चित स्वरूप लिन सकेको छैन। यसका लागि युग सुहाउँदो संगठन निर्माण गरी निरन्तर चलायमान हुने गरी निर्देशन, नियमन र निगरानी गरिनु पर्छ ।
५) भर्खरै हाम्रो पार्टीले हरेक कमिटीमा ३५ प्रतिशत महिला र २०% युवा समावेस गर्ने क्रान्तिकारी प्रस्ताव पास गरेकोछ।यो अत्यन्तै राम्रो छ।तर कमिटीमा त्यो संख्या पुर्याउन फलामको च्युरा चपाउनु सरह छ।हाम्रो पार्टीमा आवद्ध हुने सदस्यहरू अधिकांस निम्न वर्गबाट प्रतिनिधित्व गराउनुपर्ने हुन्छ। पूँजी बिना चल्न असम्भव हुने राजनीति मा निम्न वर्गलाई राजनीति गर्न सहज बनाउने आधार र भरोसा के ? यो प्रश्नको व्यावहारिक जवाफ न हुन्जेल तोकिएको प्रतिशत पूरा गर्न नै कठिनाई हुने देखिन्छ। त्यसका लागि आत्मनिर्भर अर्थनीति काे विकास गर्नु अत्यावश्यक छ।
६) हाम्रो पार्टी र बुर्जुवा पार्टी हरु विल्कुल भिन्न हुन् भन्ने कुरा हाम्रो वर्गीय धरातल र वर्गीय पक्षधरता ले छुट्याउँछ तर हाम्रै वर्गले हाम्रै पार्टिलाई युद्धकालको जस्तो विश्वास र भरोसा गर्न सकेको छैन किन? किनकि हाम्रो पार्टी जनता सङ्ग पुरै कटेको छ। जनसमुदाय संग निरन्तर जोडिने गरी सङ्गठनले काम गर्नुपर्छ।यसका लागि जनसमुदायको तल्लो इकाई सम्म पुग्ने गरी पार्टीको एउटा हिस्सा निरन्तर रूपले जनसेवामा खटिने गरी कार्यक्रम बनाउनु पर्छ।
७) अर्को महत्वपूर्ण कुरा हाम्रो पार्टी भित्र दुईखाले नेता कार्यकर्ताको विकास भएको छ।एउटा छट्टु छ,आफ्नो लागि जुनसुकै कर्म गरेर पनि बुर्जुवा पार्टीका नेता कार्यकरता जस्तै भएर हिँड्छ।खरिद बिक्री,जालझेल तिकडम र अपारदर्शी ढंगले आर्थिक उपार्जन गर्छ। नेताहरुको वरिपरि घुम्ने हैसित निर्माण गर्छ र नेतृत्वको नजरमा चल्दोफिर्दो नेता बन्न सफल भइरहन्छ। र पार्टीका अवसरहरू प्राप्त गरिरहन्छ।संगठन निर्माणमा भूमिका राख्दैन तर नेतृत्वलाई रिझाउन एकै दिन भएपनि कार्यकर्ताहरु खरिद गर्न सक्छ,खर्च गर्न सक्छ र गर्छ। यसले कार्यकर्ता परनिर्भर बनाइरहेको हुन्छ।
अर्को प्रकारको नेताहरू नेतृत्व र जिम्मेवारीमा रहिरहने। आफू पनि केही गर्न डराउने अरुलाई पनि सुकाएर राख्ने, सोझो र इमान्दार । उपल्लो तहमा आफ्नो सम्बन्ध भए सबैलाई पुग्ने।हरेक समय र परिस्थितिमा स्वविवेकले पार्टीको पहलकदमी लिनको लागि कुनै भूमिका नलिने, बिजनेस पाए मात्रै गर्ने नत्र हराउने। आफू पनि सकिने अरुलाई पनि सिध्याउने।सिर्जनशील र रचनात्मक पटक्कै नहुने।
यी दुई प्रकारको नेतृत्व र कार्यकर्ता प्रणालीका सकारात्मक पक्षहरुलाई ग्रहण गरी पहिलो पक्षको नेता कार्यकर्तालाई पार्टी पद्धतिमा ढालेर अनि दोस्रो पङ्क्तिको नेता कार्यकर्ताको इमान्दारिपन लाई अक्षुण राख्दै सृजनशील र रचनात्मक बनाउन जोड़ दिने।
८) उत्पादन संग न जोडीकन नेता कार्यकर्ता जन्माउन असम्भव नै छ।बरु अहिलेको परिस्थिति सुहाउँदो र विशिष्ट खाले उत्पादन प्रणालीको विकास गर्नु नितान्त आवश्यकता हो।यसका लागि “उत्पादनका लागि बचत” कार्यक्रम हरेक कमिटीमा लागू गर्नुपर्छ।यसले पार्टीको अर्थ प्रणाली मजबूत बनाउने छ।
९) पार्टीमा गलत गर्ने, जनविरोधी क्रियाकलाप गर्ने, भ्रष्टाचार गर्ने, बहुविवाह गर्ने, छुवाछुत गर्ने, घरेलू हिँसा गर्ने, जातिय विभेद, लैंगिक विभेद गर्ने, क्षेत्रीय विभेद गर्ने आदिलाई पार्टी अनुशासन उल्लंघनको अपराध ठहर गरी कडा कारवाही गर्नुपर्ने नीति बनाई दण्डित गर्ने गरी लागू गर्नैपर्छ ।
१०) असल काम गर्ने नेता कार्यकर्तालाई सम्मान र प्रोत्साहन गर्नुपर्छ।
११) सहिद परिवार,घाइते,अपाङ्ग र बेपत्ताहरुको जीवन निर्वाह र उचित व्यवस्थापनका लागि पार्टीले प्याकेज बनाई स्थायी समाधान गर्ने गरी कार्य गर्नुपर्छ।
१२) पार्टी स्कूल विभागलाई अविच्छिन्न सञ्चालन गरिनुपर्छ।
अभिवादन सहित